संस्मरण: कल्पनाको जापानमा साहित्यको जमघट मञ्चभरी पदाधिकारी, असन्तुष्टि छताछुल्ल

18

गोवर्द्धन पूजा,
भूँइचालो र सुनामी आइरहने जापानका बारेमा मेरो अदृश्य धारणा अर्कै बनेको थियो । साना घरहरू होलान् । बाटो फराक होलान् । र, होला हरियालीले ढपक्कै ढाकेको । जब जहाजले गोधुलि साँझमा जापानको टोकियोस्थित हानेदा बिमानस्थल ओर्लनका लाागि गति कम गरेर पाइलटको उद्घोषणा जारी गर्‍यो, मेरा नजरले जापानी परिदृश्य बिल्कुलै फरक देख्न थाले—

अग्ला घरहरूले ढाकिएको सामुद्रिक तिरमा पनि पानीजहाजको लाम लश्कर देख्दा लाग्यो—यो मेरो कल्पनाभन्दा फरकको जापान हो । घडी हेरें—जनावरी १० को स्थानीय समय ४.४० भएको रहेछ । सबै यात्रु शरीरलाई तन्काएर तेह्र घन्टा लामो यात्रामा भएको थकानबाट मुक्ति पाउने अभियानमा देखिन्थे ।

अझ मेरो त यात्रा शुरु भएको २० घन्टा भैसकेको थियो । घरबाट बोस्टनको लोगान एअरपोर्ट अनि लोगानबाट टोरन्टोसम्मको २ घन्टाको उडान र यसमा भएको थपथाप प्रतीक्षाको समयले शरीर नथाक्ने कुरै थिएन ।

गोवर्द्धन पूजा
जहाजको ढोकाबाट बाहिर निस्कना साथ सहयात्रीहरू ईश्वरी भट्ट, हरिमाया अधिकारी , शारदा भट्ट, प्रतीक भट्ट र उर्मिला निर्दोषीसमेतलाई स्वागत गर्न आइपुगेका अरुण पौडेलको फोन आयो ।

अनेसास जापान च्याप्टरका उपाध्यक्ष पौडेल र ब्यवसायी लोकराज वस्तीको साथमा हामी सिधै होटलतर्फ नलागी पाहुनाका लागि राखिएको स्वागत तथा रात्रिभोजका लागि याताइमुरा रेष्टुरेन्टतिर लाग्यौं ।

हामी पुग्दा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा परिचयात्मक कार्यक्रम चल्दैरहेछ ।

करिव सयको संख्यामा रहेका पाहुना र स्थानीय बीचको परिचयात्मक कार्यक्रम र शान्त रात्रीभोजले भोलिदेखि हुने अनेसास च्याप्टर सम्मेलन सफल हुने सङ्केत दिइसकेको थियो ।

कार्यक्रममा म अमेरिकाबाट हिड्नु अघिदेखि नै सम्पर्कमा रहेका र मैले जापानमा भेट्न चाहेका धेरै मनहरु देखें । भूषण घिमिरे, बेलुकाजी थापा, दिनेश ज्ञवाली, दीप पाठक, गिरिजा गैरे, ममता तिवारी, कल्याण पन्त, विष्णुप्रसाद घिमिरे, रवीन शर्मा , महेश पौड्याल, रत्न सुब्बा, जीवन अर्याल, रुद्र पैड्याल सबैसबै ।

रातको १० बजे सिन्जुकु—कु स्थित होटेल टोक्यो ईनमा प्रवेश गर्दाको आनन्द अर्कै थियो । अमेरिका, अष्ट्रेलिया, भारत, नेपाल, बेलायत, इजरायल र कोरियाका साहित्यकारको अन्तरङ्ग कुराकानी चल्दै थियो । फरकफरक हावापानी र भूगोलबाट आएका भएपनि नेपाली हाँसोले जन्मभूमिप्रतिको माया दर्शाइरहेको प्रतीत हुन्थ्यो ।

सुत्ने तरखरमा होटेलको लबीबाट लिफ्टमा जाँदै गर्दा भेटिएका शेखर ढुंगेलको झोलामा भेटिएको पेय पदार्थले हामीलाई रातको दोश्रो प्रहरसम्म एकत्रित बनायो ।
मोहन सिटौला ,राधेश्याम लेकाली, डन कार्की, शान्तिराम ढकाल, प्रकाशचन्द्र घिमिरे, प्रमोद सारंग, कृशबाबु गुल्मेली, लोकनाथ , नेउपाने, महेश पौडेल, रमेश दाहाल, गणेश घिमिरे, गोविन्द कँडेल आँशुलाई साँगुरो कोठाको बसााइले मनको दूरी घटाइदियो ।

बिहान नास्ता गरेर आयोजकले दिएको निर्धारित समयमा कार्यक्रमस्थल “जापान ग्लास इन्डष्ट्री सेन्टरको सभाकक्षसम्मको पैदलयात्रा तय गरियो । अग्ला अग्ला घरहरु र साँगुरा बाटामाथिको हाम्रो टोलीको लश्करबद्धता हेर्दा लाग्थ्यो, हामी कतै नेपालको नयाँ सडक र असन—इन्द्रचोकको गल्लीमा छौं । कतैकतै नयाँ बानेश्वरको चोक र चावहिल वरपर घुमेको अनुभूति पनि लिदै थियौं ।

तोकिएको समयभन्दा ठ्याक्कै दुई घन्टा ढिला प्रमुख अतिथिको आगमनपश्चात सुरु भयो—उद्घाटन सत्र । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ उत्साह भएपनि कार्यक्रमको संरचना पुरानै थियो । आयोजक अनेसास केन्द्रीय कार्यसमितिका उपस्थित सबै पदाधिकारीहरु , पूर्व अध्यक्षहरू , संघसंस्थाका प्रतिनिधिहरूको भीडले मञ्चको दुई लाईन भरिभराउ भयो । यस्तो लाग्थ्यो अनेसास केन्द्रीय कार्यसमितिका पदाधिकारिहरू यही मञ्चका लागि टोक्यो आएका हुन् ।

उद् घाटन सत्र भाषण र शुभकामना मन्तव्यले लम्बिएर अपरान्हको तीनबजेसम्म पुग्यो । अनेसासका अध्यक्ष लेकालीले मन्तब्य दिनेक्रममा केन्द्रीय कार्यसमिति र बोर्डअफ ट्रष्टीबीचको असमझदारीलाई छताछुल्ल पोखे, यद्दपी यो उपयुक्त मञ्च र परिवेश थियो कि थिएन ?

भोकाएको पेटले गीता सुन्दैन भन्ने उक्तिलाई पनि मात गर्दै अध्यक्ष लेकालीदेखि पदम बिश्वकर्मा ,मोहन सिटौला, महेश पौड्याल, भवन भट्ट, देवीलाल भन्डारी, महेशकुमार श्रेष्ठ, कुमार बस्नेत, प्रकाश पौडेल, विष्णुप्रसाद घिमिरे ,दीप पाठक र प्रमुख अतिथि प्रतिभा राणासम्मको मन्तव्य सुन्नबाट बञ्चित हुनु परेन ।
दिवाभोजपश्चात आचार्य राजनको उत्प्रेरणा र जागरण कार्यक्रम प्रस्तुत गरियो र त्यसपछि बल्ल पालो आयो कवि गोष्ठीको ।

करिव तीन दर्जन कविहरुले कविता, गीत, गजल, मुक्तकदेखि लघुकथासम्म सुनाए । गोष्ठीमा जापानका युवापुस्ताका गजलकारका गजल प्रशंसनीय रहे ।

तेस्रो दिन अर्थात् सम्मेलनको अन्तिम दिनको कार्यक्रम थियो—कार्यपत्र प्रस्तुति । बोर्डअफ ट्रष्टी , केन्द्रीय कार्यसमिति, पूर्वअध्यक्षहरू र च्याप्टरबीचको अन्तक्र्रिया , च्याप्टरको कार्यबिवरण प्रस्तुति, टोक्यो घोषणापत्रसहितको समापन कार्यक्रम ।

च्याप्टर र केन्द्रबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सुरु गरिएको यो सम्मेलनमा महेश पौड्यालको ‘ग्लोबमा नेपाली पहिचानको खोजी : एक सैद्धान्तिक विमर्श’ शीर्षकको कार्यपत्र प्रस्तुत गरियो । टिप्पणीका क्रममा बेलायत सम्मेलनमा प्रस्तुत गरिनुपर्ने कार्यपत्र जापान आइपुगेकोदेखि कार्यपत्र नभएर टिपोटमात्रै भएको आरोपसम्म लगाइए ।

कार्यक्रममा बिधान संसोधन, नेपाल च्याप्टरमा सात उपाध्यक्ष राख्नुका कारण, बेल्जियममा गरिने निर्णय भएको सम्मेलन जापान पुग्नुको राजनीति, सल्लाहकारलाई दिइएको पुरस्कार,पार्षद प्रणालीमा अनेसासलाई लगिनु पर्ने लगायतका बिषयमा आवाज उठे ।

बहस सुन्दा यस्तो लाग्थ्यो अनेसासलाई अब नयाँ दिशा दिने नेतृत्वको खााचो छ । ट्रष्टी , केन्द्र र च्याप्टर बुझेको व्यक्तिले मात्रै अनेसासलाई अगाडि बढाउन सक्छ्र ।
छ बजे सकिने भनिएको कार्यक्रम लम्बिएर ७।४५ सम्म पुग्यो ।

च्याप्टर सम्मेलन भनिए पनि केन्द्रीय पदाधिकारीहरु नै मञ्रमा हावी रहेको यस पटकको कार्यक्रममा कार्यक्रम संयोजक दीप पाठक र जापान च्याप्टर अध्यक्ष गिरिजा गैरेको मिहिनेत र योजनालाई केन्द्रले राम्ररी नै उपयोग गर्न सफल भएको देखियो । पाठक र गैरेको कुशल कर्ममा च्याप्टरका महासचिव रविन शर्मा ,पूर्व अध्यक्ष बेलुकाजी थापा, केबी पारखी,सुमित गिरी, संगीता कुँवर, अरुण पौडेल, दीपा घिमिरे, ध्रुव बन्जाडे, आनन्द अधिकारी, हेमन्त गिरी, मीनराज बास्तोला,रमेश लामिछाने, प्रतिबिम्व सुमन, शेखर बिकल्पको सहयोगले कार्यक्रम सम्पन्न गर्न पक्कै सहयोग पुगेको मात्रै होइन पाहुनाहरूको मन जित्न सफल पनि भयो ।

साँझ रात्रीभोज र सहभागीलाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा पनि गीत, गजल र नृत्य प्रस्तुत गरेर युवा पुस्ताले जापानमा मैलाउदै गरेका नेपाली प्रतिभाको राम्रो परिचय दिए ।

सम्मेलनको समापनको भोलिपल्ट योकोहामा सहरको भ्रमण गरियो । समुद्रमाथि बसाइएको यो सहरले दोस्रो बिश्वयुद्धपछि जापानले गरेको विकासको प्रमाण पेस गरेको स्पष्ट देखिन्थ्यो । ४३ तलाको टावर चढाइ र रेलयात्राको अनुभूति पनि यात्राका लागि स्मरणीय रहे ।

सहभागीहरुलाई स्वागतदेखि विदाइसम्म कुनै कुराको कमी नराखी आयोजकले जे जति गर्न सके यो एउटा सम्मेलनको सकारात्मक पक्ष बन्यो ।

जापानको सुरक्षा व्यबस्थाका बारेमा राम्रो चर्चा चलिरहँदा बेलायतबाट आएका सहभागीलाई होटेलको लविमै एउटा जड्याहाले टाउकोले हिर्काएर लडाउदै घिसारेको घटनाले ठूलो प्रश्न उठाइदियो ।

यसरी यसपटकको अनेसास जापान सम्मेलनले नेपाली साहित्यको विकासमा जे जस्तो टेवा पुर्याए पनि करिव दर्जन देशका साहित्यिक मनहरुलाई एकै मञ्चमा उभ्याएर नेपाली साहित्यका बारेमा छलफल गर्ने अवसर प्रदान गरेको छ । यो एउटा अनेसासको नियमित क्रमता र उद्देश्य पनि हो ।
बोस्टन , अमेरिका

email: gpooja1970@gmail.com

Comments

comments