नेकपाको राजनीतिक प्रतिवेदनः बीआरआईको प्रसंशा, अमेरिकी आईपीएसको आलोचना

19

काठमाडौं। सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी) को केन्द्रीय कमिटी बैठक बुधबार काठमाडौंमा शुरु भयो। ४४६ सदस्यीय जम्बो केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय धुमबाराहीमा बस्न सम्भव नभएपछि राष्ट्रिय सभा गृहमा चलिरहेको छ।

बुधबार बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखे। उनले आफ्नो मनतव्यमा सरकारको उपलब्धिका लामो सूची प्रस्तुत गरे। र राम्रो काम गर्दा पनि आलोचना भएको भन्दै घुमाउरो ढंगमा पार्टीले एकमतका साथ सरकारको बचाउमा लाग्नुपर्ने बताए।

विगतभन्दा केही नम्र रुपमा प्रस्तुत भएका ओलीले सरकारी जग्गा यति होल्डिंग्सलाई दिएको विषयमा बचाउ गरे। अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरिने बताए। जबकी नेकपामा एमसीसीको बहस निकै गम्भीर रुपले अगाडि बढ्दा यसको भविष्यमै संकट देखा परेको छ।

एक अध्यक्षले उद्घाटन मन्तव्य राख्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले दुबै अध्यक्षका तर्फबा रानीतिक प्रतिवेदन पेश गरे।

पार्टीको आगामी कार्यदिशा, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, देशका मुख्य दल, परराष्ट्र नीतिलगायतबारे दाहालले आफ्नो प्रतिवेदनमा पार्टीको धारणा पेश गरेका छन्।
प्रतिवेदनको अन्तर्राष्ट्रिय परिस्थिति खण्डमा अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे पार्टीको धारणा राखिएको छ।

दाहालले प्रतिवेदनमा अमेरिकी रणनीतिको खुलेर आलोचना गरेका छन्। उनले आईपीएस उदाउँदो शक्ति चीनलाई एशिया र प्रशान्त क्षेत्रका राष्ट्रहरुलाई सैन्य गबन्धनमा राखेर अमेरिकाले चीनलाई घेरा हाल्न विकसित गरेको उल्लेख गरेका छन्। उनले नेपालले सैन्य रणनीतिसँग जोडिएर आउने कुनै पनि सहयोग अस्वीकार गर्ने बताएका छन्। तर, प्रतिवेदनमा पारास्पारिक हितमा प्राप्त हुने सहयोग, ऋण भने स्वीकार गरिने बताएका छन्। एक केन्द्रीय सदस्यले एमसीसी अनुदान अनुमोदन गर्ने विषयमा प्रतिवेदनमा घुमाउरो ढंगबाट समर्थन गरिएको बताए। उनले प्रतिवेदनमाथि छलफल भएपछि केन्द्रीय सदस्यहरुले यो विषयमा कडा टिप्पणी गर्ने सम्भावना रहेको बताए।

आईपीएसबारे कडा टिप्पणी गरेको प्रतिवेदनमा चीनको बीआरआईको भने प्रसंशा गरिएको छ। बीआरआईले कनेक्टिभिटी बढाउने काम गरेको भन्दै नेपालले त्यसमा हस्ताक्षर गरेर राम्रो गरेको उल्लेख गरिएको छ।

यस्तै प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई बुर्जुवा पार्टी भनेर चित्रण गरे पनि लोकतान्त्रिक आन्दोलनको सहयात्री दल भन्दै विकास र समृद्धिका विषयमा सहकार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै भारतले हालै जारी गरेको नक्शामा नेपाली भूमि समेटिएको विषयमा आपसी संवादबाट समस्या समाधान गर्ने उल्लेख छ।

Comments

comments